प्यूठान – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राजनीतिक दलहरू आफ्ना उम्मेदवार सहित मतदातासँगको भेटघाटमा व्यस्त छन् । मतदाताहरूलाई भेटेर आफ्नो पक्ष मत माग्न उम्मेदवार सहित दलहरू सक्रिय छन्।

निर्वाचनबाट विजयी हासिल गर्ने भन्दा राजनीतिक दलहरू आफ्नो हैसियत बढाउनेमा केन्द्रित रहेको देखिन्छ। कुनै समय ‘ढुङ्गा, माटो’ राष्ट्रिय जनमोर्चा भनेर चिनिने प्यूठानमा यसको साख विस्तारै खस्किँदो छ । प्यूठानमा तेस्रो दलको हैसियतमा रहेको एमाले २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा दुवै निर्वाचन क्षेत्र जित्दै पहिलो दलको हैसियत कायम गर्‍यो।

त्यसयता उक्त दलले पहिलो दलको हैसियत कायम राख्दै आएको छ । एमालेले अहिले पनि आफ्नो मजबुत संगठनलाई नै निर्वाचनको मुख्य आधारका रूपमा लिएको देखिन्छ। करिब ५ हजार संगठित सदस्य रहेको दाबी गर्ने एमालेको टोल बस्तीसम्म सांगठनिक संरचना छ। एमाले यसपटक पनि आफ्नो विरासत कायम राख्दै पहिलो दलको रूपमा स्थापित हुने दौडमा छ। एमालेका तर्फबाट सूर्य बहादुर थापा क्षेत्री उम्मेदवार छन् ।

विगतका निर्वाचन मत परिणाम हेर्दा दलहरूले प्राप्त गर्ने मत एकै खालको छैन। २०७४ को निर्वाचनमा भन्दा कांग्रेस, माओवादी केन्द्र र जनमार्चाको मत घट्दो छ। विगतका दुई निर्वाचनमा दलहरू बीच गठबन्धन हुँदा दलगत मतमा असर परेको भन्दै यस पटक दलहरू आफ्नो मत रक्षा गर्दै हैसियत बढाउनमा केन्द्रित देखिन्छन् । समानुपातिक तर्फ दलहरूले प्राप्त गर्ने मतकै आधारमा राजनीतिक दलका हैसियतको लेखा जोखा हुने भएकाले यस पटक दलहरूलाई यो अवसर पनि छ । यस पटक जिल्लामा क्रियाशील राजनीतिक दलहरू एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा छन्। १४ राजनीतिक दलले दलीय प्रतिनिधित्व गर्दै निर्वाचनका लागि उम्मेदवार खडाका गरेका छन् ।

एमालेबाट पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका सूर्य बहादुर थापा क्षेत्री, नेपाली कांग्रेसबाट पार्टीका पूर्व केन्द्रीय सदस्य डा। गोविन्द पोखरेल, नेपाली कम्युनिस्ट पार्टीबाट पार्टीका केन्द्रीय सदस्य कृष्णध्वज खड्का र राष्ट्रिय जनमोर्चाको तर्फबाट नेकपा (मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता तिलक बहादुर जिसी उम्मेदवार छन्।

नयाँलाई ‘हुइम’को आस
‘पुराना’ राजनीतिक शक्तिको विकल्प खोज्नुपर्ने हुइमले आफ्नो जित निकाल्न सकिने मौकाको पर्खाइमा छन्, नयाँ राजनीतिक दलहरू । गत निर्वाचनमा समानुपातिक तर्फ ५ हजार ८५१ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी प्रति यसपालि देखिएको लहरले आफूलाई मुख्य प्रतिष्पर्धीका रुपमा लिएको छ। पार्टीका तर्फ ३२ वर्षिय सुशान्त वैदिक उम्मेदवार छन् ।

उनी उम्मेदवार हुनकै लागि रास्वपा प्रवेश गरेको जिल्ला स्तरीय नेताहरू बताउँछन। यद्यपि उनी मतदाता बीच भने परिचित छैनन्। पुर्ख्यौली घर प्यूठान भए पनि उनी दाङ तुल्सीपुरका स्थायी बासिन्दा हुन् । आफूलाई वैकल्पिक शक्तिका रूपमा दावी गर्दै आएका श्रम संस्कृति पार्टीका तर्फबाट गोविन्द गिरी उम्मेदवार छन् । जनमोर्चा, एमालेको युवा संगठनमा लामो समय बिताएका गिरी विकल्पका रूपमा आफ्नो दावी प्रस्तुत गर्दै आएका छन्।

२०७९ को निर्वाचन मत परिणाम हेर्दा

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेका सूर्य बहादुर थापा क्षेत्री नै विजयी भए। त्यसबेला पाँच दलले एमाले विरुद्ध गठबन्धन गरेका थिए । त्यसका बाबजुत पनि एमाले उम्मेदवारले ५ हजार ३०४ फाराकिलो मतान्तरले विजयी भएका हुन् । पाँच दलीय गठबन्धनकी उम्मेदवार प्रतिस्पर्धी राष्ट्रिय जनमार्चा उम्मेदवार दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरिन्। त्यसवेला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णप्रसाद पोखरेलले ३ हजार ३१८ मत प्राप्त गरे ।

समानुपातिक तर्फ दलगत प्राप्त मतपरिणाम अनुसार एमालले ३३ हजार ८०४ मत प्राप्त गरी पहिलो हैसियल कायम गर्‍यो। १७ हजार ८५१ मत सहित कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र)  १३ हजार ३०३ मत लिएर तेस्रो र ९ हजार ९५९ मत प्राप्त गरेको राष्ट्रिय जनमोर्चा चौथो दल बन्यो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

२०७४ को निर्वाचन मत परिणाम हेर्दा
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा ‘बाम गठबन्धन’ भन्दै कम्युनिस्ट पार्टीहरू बीचको चुनावी गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भइन् । ४७ हजार ५ सय १४ मत लिएर पौडेल विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा। गोविन्दराज पोखरेलले ३१ हजार २८६ मत प्राप्त गरे । १६ हजार २२८ फराकिलो मतान्तरले पौडेलले जित निकालेकी हुन् ।

दलगत प्राप्त मतका आधारमा एमाले पहिलो शक्ति नै कायम रह्यो। एमालेले २४ हजार ७६३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २२ हजार ८४६ मत लिएर दोस्रो, तत्कालिन नेकपा (माओवादी केन्द्र) ले १५ हजार ४७४ सहित तेस्रो र राष्ट्रिय जनमोर्चाले १४ हजार ८२ मत लिएर तेस्रो स्थान प्राप्त गरे। दलगत आधारमा प्राप्त मत भन्दा कांग्रेस उम्मेदवार पोखरेलले ८ हजार ४४० मत बढि लोकप्रिय मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया