काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंक वा वित्तीय संस्थामा खोलिएको छुट्टै खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको हो ।
त्यसै प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिन आग्रह गरेको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार उम्मेदवारले निर्वाचन खर्च गर्दा आफ्ना तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र ती पदाधिकारीको नाम–नामेसीसहितको विवरण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।
राजनीतिक दलले पनि निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत मात्रै खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत मात्रै लिनुपर्ने र व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगस्वरूप नगद प्राप्त भएमा त्यसको रसिद वा भर्पाई दिई सम्बन्धित दल वा उम्मेदवारको बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान रहेको आयोगले स्पष्ट गरेको छ।
निर्वाचन आयोगले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसका आधारमा राजनीतिक दलका लागि एउटा र प्रत्येक उम्मेदवारका लागि अलग–अलग बैंक खाता खोल्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको हो । ती खाता आमनिर्वाचन सम्पन्न भई आयोगबाट बन्द गर्न निर्णय नहुन्जेलसम्म सञ्चालनमा रहनेछन् । यस व्यवस्थाले निर्वाचन अभियानको आम्दानी–खर्च पारदर्शी बनाउँदै अनियमितता नियन्त्रणमा सहयोग पुग्ने आयोगको विश्वास छ।






