
काठमाडौं । नेपाली कांग्रेसको कार्यसमितिको आकस्मिक बैठक सकिएको छ ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरी सकिएको हो ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गएराति वीरअस्पतालमा निधन भएको थियो ।
ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।
विशेष महाधिवेशनको अन्तिम समयमा बसेको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने उपस्थित भएनन् ।







