
काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
गएको असोज १२ गते आयोगले ओलीलाई विदेश जान र अनुमतिविना काठमाण्डौँ उपत्यका छाड्न रोक लगाएको थियो । नवयुवा आन्दोलनका सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका काम कारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको प्रवक्ता शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
ओलीले हिजो राष्ट्रिय मानव अधिकार आयोगमा पनि बयान दिएका छन् भने हिजै जाँचबुझ आयोगसमक्ष लिखित ‘स्टेटमेन्ट’ बुझाएका हुन् । उनले आफ्नो निवास भक्तपुरको गुण्डु आएका आयोगका सदस्यलाई लिखित ‘स्टेटमेन्ट’ बुझाएका हुन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन सरकारमा रहेका केही मन्त्री, सुरक्षा निकायका प्रमुखलगायतसँग बयान लिइसकेको छ ।







