
काठमाडौँ । बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराएको छ । नागरिक समूहका अध्यक्ष बिष्णु हरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख गर्दै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्न सक्ने चेतावनी समेत दिएको छ।
सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत दिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा जेन–जी समूहका नाममा कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार भएको टिप्पणी गर्दै, यस्तो आचरणले अवस्था झन् जटिल बन्ने चेतावनी दिइएको छ।
नागरिक समूहले सरकार, राजनीतिक दल तथा जेन–जी युवाहरूलाई लोकतान्त्रिक मूल्य, संवैधानिक हक र शान्तिपूर्ण अभ्यासप्रति स्पष्ट प्रतिबद्ध हुन आग्रह गरेको छ।
नागरिक समूहले आगामी फागुन २१ मै शान्तिपूर्ण र निष्पक्ष चुनाव गराउनु सरकारको ऐतिहासिक दायित्व भएको उल्लेख गर्दै तत्काल राजनीतिक दलहरूबीच संवाद, चुस्त सुरक्षा व्यवस्था र अनावश्यक दमन नगर्ने नीति अपनाउन सुझाव पनि दिएको छ।






