
तेह्रथुम । आठराई गाउँपालिका-५ छातेढुङ्गामा २०३९ सालदेखि वर्षेनि लाग्दै आएको दिपावली मेलाको अवसरमा आयोजित खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आठराई गाउँपालिकाले जितेको छ। महिलातर्फ म्याङलुङ स्पोर्टिङले उपाधि जितेको छ।
भगवती ट्रफी तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलमा लाफा एफसी इवालाई १-० ले पराजित गर्दै गाउँपालिका टीमले उपाधि जितेको हो। दिपेश लिम्बुले गरेको गोल नै खेलको निर्णायक बन्यो। प्रतियोगितामा लाफा एफसी उपविजेता बनेको छ।

विजेता र उपविजेताले क्रमश नगद १ लाख ७५ हजार र १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता मितेरी युवा क्लब संक्रान्ति बजारका टाँसी लामा, उत्कृष्ट मिडफिल्डर आठराई गाउँपालिकाका सबिन तामाङ, बेस्ट गोल रक्षक आठराई गाउँपालिकाका विपिन फोम्बो, उत्कृष्ट डिफेन्डर लाफा एफसी ईवाको तर्फबाट टेकेन मगर साथै प्रतियोगिताको अनुशासित खेलाडी लाफा एफसीकै रोनिस राई बन्न सफल भएका हुन् ।






