काठमाडौं – देशका केही स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा वर्षा भइरहेको हो ।
गण्डकीदेखि पश्चिमका केही स्थानमा बिहान वर्षा भइरहेको छ । पश्चिमबाट वर्षा गराउने प्रणाली क्रमशः पूर्वतर्फ सरिरहेको छ । यो प्रणाली अहिले गण्डकीसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लाग्ने बताएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ ।
वाग्मती, मधेस र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र कोसी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार राति पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । भोली देशका अधिकांश भूभागम मौसम सफा रहने विभागको पूर्वानुमान छ ।






