
काठमाडौं । अमेरिका भ्रमणका विषयमा एनआरएनए अमेरिकाका दुई समूहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफू माथि राजनीति गर्न खोजेको युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले गुनासो गरेका छन् ।
माघ ३ गते गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले आयोजन गर्न लागेको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रमका लागि मन्त्री गुप्ताको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।
भ्रमण स्वीकृत भएपछि एनआरएनए अमेरिकाका फरक फरक समूहले फरक फरक विज्ञप्ति निकालेका थिए । ‘धेरै कार्यक्रमका लागि निमन्त्रणा आएका थिए, अरू भिसा, टिकटको प्रक्रिया गर्नु अघि मन्त्रिपरिषद्मा स्वीकृत गराएको हो, अहिले के के हो के के विवाद निकालेका छन्,अमेरिकाका भ्रमणको बहानामा म माथि राजनीति गरे’, मन्त्री गुप्ताले भने ।
उनले आफू अब अमेरिका जाने नजाने भन्ने विषयमा स्पष्ट नभएको उल्लेख गर्दै भने,’भिसा लिएको छैन, टिकट लिएको छैन, माघ ३ गते कार्यक्रम भन्या छ यता ६ गते उम्मेदवारी दर्ताको दिन छ खाली विवाद मात्रै गराए ।’
साथै उनले एनआरएनए अमेरिकाको विवादको शिकार आफू भएको भन्दै गुनासो गरे । विवाद चर्किएपछि एनआरएनए स्टेरिङ कमिटीका बद्री केसी, महेश श्रेष्ठ लगायत एनआरएनएका नेताहरू मन्त्रालयमै पुगेर माफी मागेका छन् ।
मन्त्री गुप्ताले भने,’एनआरएनएका केन्द्रीय नेताहरू मन्त्रालयमा आएर एनआरएनए अमेरिकाबाट गल्ती भएकाले आजै सच्याएर संयुक्त विज्ञप्ति निकाल्ने भन्नु भएको छ, हेरौँ के हुन्छ।’






