
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी टिममा महिला एक जना मात्रै अटाएका छन् ।
विवेकशिल साँझा पार्टी, उज्यालो नेपाल पार्टी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को समूहसँगै हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारसहितका दल एकता भएर बनेको ११ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला अटाएकी छन्- त्यो पनि कोषाध्यक्षमा । जातीय क्लस्टरमा हेर्दा पनि रास्वपाको पदाधिकारी टिममा खस आर्यकै वर्चस्व देखिएको छ ।
सभापति रवि लामिछाने खर्स आर्यको प्रतिनिधित्व गर्छन् भने वरिष्ठ नेता बालेन्द्र साह (बालेन) मधेशी समुदायको प्रतिनिधित्व गर्छन्। यस्तै उर्जामन्त्री समेत रहेका उपसभापति कुलमान घिसिङले आदिवासी जनजाति र अर्को उपसभापति डोलप्रसाद अर्याल खस आर्यकै प्रतिनिधित्व गर्छन् । २ महामन्त्री कविन्द्र बुर्लाकोटी र सुनिल लम्साल पनि खस आर्यकै प्रतिनिधित्व गर्छन् । जसमा बुर्लाकोटी दल एकता नहुनु अघि नै महामन्त्री थिए भने लम्साल बालेनको टिमबाट एकता भएर आएका व्यक्ति हुन् ।
यस्तै, ३ जना सहमहामन्त्रीमा २ जना खस आर्यकै प्रतिनिधित्व गर्छन् भने एक जना आदिवासी जनजातिमा पर्छन् । जसमा विपिनकुमार आचार्य र भूपदेव शाह खस आर्यबाट हुन् भने जीतराम वाइवा आदिवासी जनजातिबाट हुन् । आचार्य पार्टी एकता हुनु अघिकै सहमहामन्त्री हुन् भने वाइवा कुलमानको पार्टीबाट र शाह बालेनका प्रमुख स्वकीय सचिव समेत रहेका छन् ।
रास्वपाले आफुलाई अरु राजनीतिक दल भन्दा फरक र वैकल्पिक राजनीतिक दलका रुपमा उभ्याएको भए पनि पदाधिकारी टिम निर्माण गर्दा असमावेशी चरित्र देखाएको छ । पार्टीको पदाधिकारीमा सभापतिदेखि सहमहामन्त्रीसम्म सबै पुरुषकै बर्चस्व देखिएको छ । अन्तिम कोषाध्यक्षमा मात्रै लिमा अधिकारी अटाएकी छन् । उनी विभिन्न दल एकता नहुनु अघिकै कोषाध्यक्ष हुन् ।
विवेकशिल साँझा पार्टीका अध्यक्ष समिक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना पनि पदाधिकारी बन्नका लागि योग्य व्यक्ति हुन् । यदि पार्टीले चाहेको अवस्थामा उनीहरुमध्ये कुनै पनि व्यक्तिलाई पदाधिकारीमा समेटेर समावेशी बनाउन सक्थ्यो ।
यस्तै उज्यालो नेपाल पार्टीबाट पनि रिमा विश्कर्मा लगायतका व्यक्ति एकतामा आएका थिए । उनलाई पनि चाहेको भए रास्पाले कुनै पदाधिकारीको जिम्मेवारी दिएर समावेशी बनाउन सक्ने थियो । यति मात्रै नभएर हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनार र उपसभापति डा.नमिता यादवलाई कुनै पनि पदाधिकारीमा समेटेर पनि समावेशी बनाउन सक्ने सम्भावना थियो । तर, रास्वपाले पार्टीको पदाधिकारी टिमलाई समावेशी बनाउने दृष्टिकोणबाट हेरेन । रास्वपाको पदाधिकारी टिम असमावेशी भएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।






