काठमाडौं । चर्चित हाँस्य कलाकार विष्णु सापकोटा ९‘हर्के हवल्दार’० ले सामाजिक विषयवस्तुमा आधारित नयाँ टेलिफिल्म ‘मुक्ति’ प्रदर्शनमा ल्याउने भएका छन् । यो टेलिफिल्म मंसिर ७ गतेदेखि युट्युब च्यानल ‘विष्णु सापकोटा’ मार्फत साँझ ७ बजेबाट हेर्न पाइनेछ ।

शुक्रबार आयोजित एक कार्यक्रममा विष्णु सापकोटाले टेलिफिल्म ‘मुक्ति’का बारेमा जानकारी दिएका थिए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ‘मुक्ति’ परिवारले श्रेष्ठलाई सम्मान पनि गरेको थियो । सम्मानित भएका श्रेष्ठले सापकोटाको कलाकारिताको प्रशंसा गर्दै टेलिफिल्मको सफलताको शुभकामना दिए ।

कार्यक्रममा कलाकार निर्देशक दीपाश्री निरौला ले विष्णु सापकोटाको कलाकारिताको चर्चा गरेकी थिइन् ।

युनिक सापकोटा को प्रस्तुतिमा माधव तिमल्सिना ले निर्माण गरेको ‘मुक्ति’ मा विष्णु सापकोटासँगै लक्ष्मी गिरि, सुशील पोख्रेल, राजेन्द्र खड्गी, हिउँवाला गौतम लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

विष्णु सापकोटाले यसअघि १०० भन्दा बढी फिल्म, सडक नाटक र दर्जनौँ टेलिफिल्ममा काम गरिसकेका छन् । उनकै निर्देशनमा बनेको ‘हर्के हवल्दार’ टेलिफिल्ममा उनले दोहोरो भूमिका निर्वाह गरेका थिए ।

तपाईको प्रतिक्रिया