
काठमाडाै । गत असोजको बाढी पहिरोबाट कोशी प्रदेशमा ३ अर्ब ५६ करोड रुपैयाँको क्षति भएको छ ।
शुक्रबार संसदीय पत्रकार मञ्च कोशी प्रदेशले कोशी प्रदेशमा जेनजी आन्दोलन र प्राकृतिक विपद्मा भएको क्षति र पूननिर्माणका विषयमा आयोजित कार्यक्रममा कोशी प्रदेश पूर्वाधार विकास मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले ३ अर्ब ५६ करोड २७ लाख रुपैयाँ क्षति भएको जानकारी दिए । असोज १७, १८ र १९ गतेको अबिरल बर्षा पछिको बाढी पहिरोले कोशी प्रदेशका ५६ निजी घर, १३ वटा सरकारी भवन, ९ वटा सार्वजनिक भवन, १५८ वटा सडक, ३० वटा सडक पुल र ११ वटा झोलुङ्गे पुलमा क्षति पुगेृको छ ।
मन्त्री राईले मंसिर २० गते भित्र सबै आयोजनाको टेन्डर निकालिसक्न मातहत कार्यालयहरूलाई मन्त्रालयले निर्देशन पनि दिइसकेको बताए । उनले प्रदेशमा कोटेशनबाट खरिद गर्न रोक लगाइएको पनि जानकारी दिए ।
मन्त्री राईले भने‘अब, कोटेशनबाट खरिद बन्द गरिएकाले सबै काम टेन्डर मार्फत सूचना निकालेर मात्रै गर्ने व्यवस्था गरिएको छ ।’ मन्त्री राईले जेन्जी आन्दोलनका क्रममा करिब ९७ करोड रुपैयाँको क्षति भएको बताए । उनले आन्दोलनबाट क्षतिग्रस्त संरचना र प्रकृतिक विपद्बाट क्षति पुगेका संरचना निर्माण र पुननिर्माणको काम सुरू गरिसकिएको जानकारी दिए ।






